
९ भदौ, वीरगन्ज । बाराबाट प्रहरीले १९५ कार्टुन चाईनिज तास बरामद गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले कलैया उपमहानगरपालिका-१४ बघवनबाट उक्त परिमाणमा चाईनिज तास बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चलाएको जाँच अभियानको क्रममा २ लाख ७२ हजार मूल्य बराबरको चाईनिज तास पक्राउ गरेको प्रहरी जानकारी दिएको छ ।
वीरगंजबाट बरियारपुरतर्फ जादै गरेको ना ५ च १८०१ नम्बरको पिकअप गाडीबाट उक्त तासको कार्टुनहरु फेला पारेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार पिकअपमा लोड रहेका १९५ कार्टुन चाईनिज तासको बिल शंकास्पद देखिएकाले नियन्त्रणमा लिईएको हो ।
बरामद ताससहित पिकअपलाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।