जनकपुरधाम । महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।
अनुहार जलाइएको अवस्थामा पहिचान नखुलेको महिलाको शब फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।
जिल्लाको पिपरा गाउँपालिका– ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको आँपको बगैचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अन्दाजी २५/२६ वर्षीया कालो लेगिज र हल्का पहेलो रंगको कुर्ति लगाएकी महिलाको शव आँप बगैचाको आलिमा भेटिएको महोत्तरी प्रहरीले जनाएको छ । मृतकको अनुहारमाथि सल राखेर जलाइएको हुनसक्ने महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए ।
सोमबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाको आधारमा महोत्तरी प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी उपरीक्षक पोखरेलले मृतकको परिचय खुल्न नसकेको बताउँदै प्रहरीले घटनास्थल सुरक्षित राखेर आवश्यक कारबाही प्रक्रिया गरिरहेको बताए । घटनाको प्रकृति हेर्दा कसैले विभत्स किसिमले हत्या गरे जस्तो देखिएको भन्दै उनले पहिचान खुल्न नसकोस् भनेर अनुहार जलाएर हत्या गरेको हुन सक्ने अनुमान समेत गरे ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ । सो घटनाबारे थप अनुसन्धान समेत थालिएको उनले बताए ।