वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जका उद्योगी प्रेमकुमार जाटियालाई पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वय गर्ने सिलसिलमा पर्सा प्रहरीले जाटियालाई वीरगन्जका लिंङकरोडबाट पक्राउ गरेको हो ।प्रहरीले जाटियालाई आइतबार दिउँसो वीरगन्जको लिंकरोडस्थित गरिमा विकास बैंकमाथि रहेको युनिक फर्मास्युटिकल्सको कार्यालयबाट पक्राउ गरेको हो ।
पक्राउ परेको जाटियालाइ आजै अदालतमा हाजिर गराइएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले जनाए । उनका अनुसार लेनदेन मुद्दामा अदालतको फैसलाबमोजिम विगो भराउन प्रहरीले जाटियालाइ पक्राउ गरेको हो ।
वीरगन्ज–२ छपकैयास्थित श्रीराम कोलोनीमा माटो पुरेबापत ठेकेदार कम्पनी सत्यम सप्लायर्सलाई जाटियाले पाँच लाख रुपैयाँ भुक्तानी नदिएको कारण ठेकेदार कम्पनी अदालत गएको थियो ।
ठेकेदार कम्पनीका सञ्चालक सञ्जयकुमार श्रीवास्तव र संगीता कुमारी वादी रहेको उक्त मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ वैशाख ३० गते गरेको फैसला अनुसार बिगो भराउन आदेश दिएको थियो ।
तर जाटियाले बिगो नभरेपछि पुनः २०८१ कात्तिक २ मा अदालतले फेरि अर्को आदेश जारी गरेको थियो ।
जुन आदेशमा अदालतले ६ महीना कैदमा राखेर बिगो असूल गर्ने भनेको थियो । अदालतको यही आदेशको कार्यान्वयनका लागि प्रहरीले जाटियालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।