वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले वीरगन्जका बिरेन्द्र साह सोनारको हत्यामा संलग्न मुख्य अभियुक्तलाई आज विहान पक्राउ गरेको छ ।
प्रहरीले सोनारको हत्या प्रकरणमा संलग्न एकजना भारतीय मुख्य अभियुक्तलाई पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरीको विशेष टोलीले सोनार हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक विजय गुप्तालाई पक्राउ गरेको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।
सोनारको हत्या भएको एक सातामै पक्राउ गर्न सफलता मिलेको बारा प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रमुख खड्काका अनुसार बुधबार विहान वीरगन्जको इनर्वाबाट गुप्तालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका गुप्ता रक्सौल निवासी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर मुख्य अभियुक्त गुप्तासंग नेपाली नागरिकता पनि रहेको बारा प्रहरी बताउँछ ।
गुप्ताले आफू पर्साको बहुदरमाइ नगरपालिका निवासी रहेको प्रहरीमा बयान दिएको जनाइएको छ ।
एक साताको सूक्ष्म अनुसन्धानमा विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको पाइएको बारा प्रहरी स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेका गुप्तासंग प्रहरीले अहिले थप अनुसन्धान गरिरहेकोले अन्य विवरण खुलाउन खुल्न नसकेको बारा प्रहरी स्रोतको भनाइ छ । रक्सौल निवासी गुप्तालाई बारा प्रहरी हिरासतमा राखिएको छ ।
उनीसंगको अनुसन्धान सकिएपछि थप सबुतप्रमाणसंगै आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बारा प्रहरीको तयारी छ ।
यही १ कात्तिकमा बाराको गण्डक नहरबाट सोनार मृत अवस्थामा फेला परेका थिए । वीरगन्जबाट बेपत्ता भएको चार दिन पछाडि सोनार बारामा मृत अवस्थामा फेला परेका हुन ।
घटना शंकास्पद रहेको भन्दै बारा प्रहरीले हत्याको आशंकामा अनुसन्धान सुरु गरेको थियो । पोस्टमार्टम रिपोर्टमा झन शंकास्पद आधार भेटिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको बारा प्रहरीको दाबी छ ।
त्यसका लागि प्रहरीले पहिलो चरणमै मृतकका श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको गरेको थियो । मृतकका श्रीमती मनिषा देबीसंग गरिएको अनुसन्धान पश्चात भारत रक्सौल निवासी गुप्ता पक्राउ परेको प्रहरी स्रोतको दाबी छ ।
वीरगन्ज महानगरपालिका –३ छपकैया निवासी २६ वर्षका सोनार बाराको प्रसौनी गाउँपालिकाको गण्डक नहरको किनारमा मृत भेटिएका थिए ।
टाउँको पछाडि चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो । मृतक सोनार २७ गतेदेखि बीरगन्जबाट बेपत्ता भएका थिए ।