
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले बढी परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले एक विज्ञप्ति जारी गर्दै जिल्लाका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद भएको जानकारी दिएको छ ।
प्रहरीको गस्ती टोलीले जिल्लाका विभिन्न ठाउँबाट ७ लाख उनान्बे हजार मूल्य बराबरको भन्सार छलीका विभिन्न किसिमका सामानहरु बरामद गरेको हो ।
चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले लत्ताकपडा, कुर्ता सुरुवाल, खुद्रा सामान तथा सवारीसाधन पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले बताए ।
उनका अनुसार चोरी पैठारी भइरहेको प्रहरीलाई प्राप्त सूचना बमोजिम जाँच गर्दा भन्सार छलीका सामानहरु बरामद भएका हुन ।
बरामद सबै सामानसहित सवारीसाधनलाई समेत थप कारबाहीको लागि रौतहटस्थित गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।