
जनकपुर । सिरहामा आफ्नो ‘गर्लफ्रेन्ड’ संग साथीहरुलाई यौन सम्पर्क राख्न दिन नमान्दा हत्या भएको पाइएको छ ।
आफ्नो ‘गर्लफ्रेन्ड’ संग अन्य केटा साथीहरुले यौन सम्पर्क राख्ने प्रस्ताव अस्वीकार गरेपछि उनको हत्या भएको खुलासा भएको छ ।
एक साता अगाडि सिरहाको सुखीपल नगरपालिकामा कृष्ण महराको ‘गर्लफ्रेन्ड’ संग साथीहरुले आफूहरु पनि यौन सम्पर्क गर्ने प्रस्ताव राखेका थिए । तर उनले त्यो प्रस्ताव अस्वीकार गरिदिएपछि त्यही निहुँमा उनको हत्या गरिएको सिरहा प्रहरीले जनाएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर १३ निवासी कृष्णकुमार महराको आफ्नै साथीहरुले मिलेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लागु औषधको सेवन गरेर पाँच जनाले आफ्नै साथीको हत्या गरेको अनुसन्धानबाट खुलेको सिरहा प्रहरी प्रवक्ता बिरेन्द्र पासवानले बताए ।
उनका अनुसार विभिन्न सबुतप्रमाणसहित पाँचै जना पक्राउसमेत परिसकेका छन् । प्रहरीले आफ्नो साथीको हत्या गरेको आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको हो ।
यसरी भयो हत्या
घटना हो, २७ गतेको । यो दिन नगरपालिकामा दशैं मेला लागेको थियो । त्यो मेला हेर्न महरासहित सबै साथीहरु गएको थियो ।
प्रहरीका अनुसार नगरपालिकामा लागेको दुर्गा मेला हेर्न गएका सबैले लागु औषधको सेवन गरिसकेका थिए । प्रहरीका अनुसार उनीहरु सबैजनाले गाँजा र नाइट्राभेट ट्याब्लेट सेवन गरेका थिए ।
प्रहरी भन्छ, ‘त्यही बेला कृष्ण महराले आफ्नो गर्लफ्रेन्डसंग फोनमा कुरा गरे, मेलामा राती नै बोलाउने समय मिलाए । ‘गर्लफ्रेन्ड’ आउन लागेको अन्य साथीले जानकारी पाएपछि आफूहरु पनि यौन सम्पर्क राख्ने साथीलाई प्रस्ताव गरे । तर त्यो कुरा महराले मान्न तयार भएनन् । त्यसपछि सबैजनामा विवाद हुन थाल्यो ।’
प्रहरीका अनुसार यही विवाद हुँदाहुँदै उग्ररुप लियो । ‘गर्लफ्रेन्ड नआउँदै त्यसपछि सबैजनामा विवाद भयो, अनि चक्कुले अन्य पाँचजना साथीहरु मिलेर कृष्ण महराको हत्या गरे,’ प्रहरी प्रवक्ताले भन्यो ।
प्रहरीका अनुसार त्यसपछि घटना लुकाउन सबैजना मिलेर महराको शव नजिकैको गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर शरीरको माथिल्लो भाग बालुवाले छोपेर फरार भएका थिए ।
बालुवामा ढाकेको करिब ५ घण्टापछाडि आफूहरुले हत्याबारे जानकारी पाइसकेको महेसपुर पतार इलाका प्रहरीका रविनराज मैनाली बताउँछन् ।
उनका त्यसपछि घटनाको सूक्ष्म अनुसन्धान सुरु भयो, जुन क्रममा प्रहरीले हत्या गर्ने समूहका रोहित महरालाई नियन्त्रणमा लियो ।
उनै महराले दिएको बयान अनुसार हत्याको रहस्य र अन्य सहयोगीहरु पक्राउ परेको प्रहरी निरीक्षक मैनाली बताउँछन् ।
पक्राउ परेका पाँचै जनामाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान सुरु भएको सिरहा प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गएको २७ असोजमा कृष्णको हत्या भएको थियो ।