
धनुषा । रामजानकी विवाह पञ्चमी महोत्सवमा यसवर्ष अयोध्याबाट जन्ती आउने भएको छ । पञ्चमी महोत्सवमा सहभागी हुन भारतस्थित राम जन्मभूमि अयोध्याबाट पाँच सय जना जन्तीसहितको टोली जनकपुरधामतर्फ प्रस्थान गर्ने भएको हो ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष विवाहमञ्चमीको अवसरमा रामजानकी विवाह पञ्चमी महोत्सव धुमधामले मनाइन्छ ।
त्रेता युगमा भएको राम र सीताको विवाहलाई स्मरण गर्दै प्रत्येक वर्ष विवाह पञ्चमीको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा साता दिनसम्म यो महोत्सव मनाइन्छ ।
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतस्थित राम जन्मभूमि अयोध्याबाट पाँच सय जना जन्तीसहितको टोली जनकपुरधाम आउने तयारी भइरहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले जनाए ।
जन्ती टोलीमा विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पङ्कज, राम जन्म भूमि तीर्थ क्षेत्र ट्रस्टका पदाधिकारी चम्पत रायलगायतका व्यक्तिहरूको सहभागीता रहने उनको भनाइ छ ।
मङ्सिर २१ गतेको विवाह पञ्चमी कार्यक्रममा सहभागी हुन अयोध्याबाट जन्ती टोली १८ गते नै जनकपुरधाम आउने र २३ गते भारत फर्किने कार्यक्रम रहेको उनले बताए ।