वीरगन्ज । वीरगन्जस्थित बाल सुधार गृहबाट लागूऔषध कसुरमा अदालतको फैसलापछि राखिएका १७ वर्षीय युवक फरार भएका छन्।
सर्लाहीको गोडैता नगरपालिका घर भएका ती युवक मंगलबार बिहान करिब साढे ५ बजे सुधार गृहको पछाडितर्फको झ्यालबाट हाम फालेर फरार भएको पर्सा प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्र मल्लका अनुसार फरार युवकलाई तत्कालै खोजी गर्न प्रहरी परिचालन गरिएको थियो।
तर चार दिन बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन।
प्रहरीका अनुसार लागूऔषधसम्बन्धी कसुरमा अदालतको फैसलापछि करिब एक साताअघि मात्रै उनलाई बाल सुधार गृहमा राखिएको थियो।
सुधार गृहमा राखिएको केही दिनमै उनी फरार भएका हुन्।
फरार युवकको खोजीका लागि सम्भावित स्थानमा प्रहरी परिचालन गर्नुका साथै आवश्यक अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए।
प्रहरीले फरार युवकको पहिचान भने नाबालक भएकाले ‘क’ नामबाट मात्रै सार्वजनिक गरेको छ।