वीरगन्ज । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफूलाई आगामी निर्वाचनमा भाग लिनबाट वञ्चित गरिए देशमा राजनीतिक संकट गहिरिने र फेरि कहिल्यै चुनाव नहुने चेतावनी दिएका छन्।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको एक बृहत् राजनीतिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सनसनीपूर्ण दाबी गरेका हुन्।
रेशम चौधरीले आफ्नो अडानमा लक्ष्मण थारु र धनिराम थारु लगायतका नेताहरूलाई पनि जोड्दै भने, ‘यदि रेशम थारू, लक्ष्मण थारू र धनिराम थारूले यो चुनावमा भाग लिन पाएनन् भने, म यस मञ्चबाट भन्छु— यो देशमा फेरि चुनाव हुँदैन।’
उनले ‘सिंगो समूदायको विद्रोह’लाई पन्छाएर लोकतन्त्रको प्रक्रिया अघि बढ्न नसक्ने तर्क राखे। आफ्नो दाबीलाई पुष्टि गर्न उनले स्थापित दलका शीर्ष नेताहरूलाई इतिहास सम्झाए। चौधरीले नेपाली कांग्रेस, नेकपा एमाले, शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड र हालको जेनजी आन्दोलनको इतिहास के थियो भन्दै प्रश्न उठाए, जसले उनीहरूले पनि संघर्ष र विद्रोहकै जगबाट राजनीतिमा स्थान बनाएको संकेत गर्दछ।
चौधरीले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवले सार्वजनिक रूपमा भन्दै हिँडेकोमा आपत्ति जनाए।
उनको भनाइ थियो, ‘अहिले चुनाव लड्न दिन्नँ भन्छन्। पुरुषोत्तम यादवजीले भन्नुभयो, नेता हुन दिन्नँ भन्छन्। देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ?’
चौधरीले संघर्षको मैदानबाट आएका नेताहरूको राजनीतिक भविष्यमाथि कलम चलाउने बौद्धिक वर्गले मात्र फैसला गर्न नमिल्ने भन्दै आफ्नो राजनीतिक अधिकारको माग दोहोर्याएका छन्।