ट्रेन्डिङ

प्रहरी दिवसमा एसएसपी मगरको स्वीकारोक्ति : पर्सामा बिचौलियाबिना सेवा लिन सक्ने वातावरण अझै बनेन

वीरगन्ज । प्रहरी दिवसका अवसरमा मधेस प्रदेश प्रहरी कार्यालय वीरगन्जका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णपल्लि मगरले प्रहरीबाट नागरिकले बिचौलियाबिना सहजरूपमा सेवा लिन सक्ने वातावरण अझै बनिनसकेको स्वीकार गरेका छन् ।

वीरगन्जस्थित प्रदेश प्रहरी कार्यालयको परिसरमा शुक्रबार बिहान आयोजित ७१औँ प्रहरी दिवस कार्यक्रममा बोल्दै एसएसपी मगरले प्रहरी सेवामा सबै नागरिकप्रति समान व्यवहार हुनुपर्नेमा जोड दिए ।

उनले प्रहरीबाट प्रदान गरिने सेवामा कुनै पनि प्रकारको भेदभाव हुन नहुने बताए ।

‘सबैलाई गर्ने व्यवहार समान हुनुपर्छ, सेवामा भेदभाव हुनु हुँदैन,’ उनले भने ।

प्रहरी सेवा लिन पीडित आफैँ प्रहरी कार्यालयमा पुगेर बीचमा कसैको सहयोग नलिई आफ्नो समस्या राख्न र सेवा प्राप्त गर्न सक्ने वातावरण अझै पूर्णरूपमा निर्माण हुन नसकेको उनको भनाइ थियो ।

प्रहरी कार्यालयमा पुग्न वा आफ्नो काम गराउन बीचको मान्छे खोज्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

पीडितले कुनै मध्यस्थकर्ताको सहारा नलिई प्रहरीसमक्ष प्रत्यक्ष पुगेर आफ्नो समस्या राख्न र न्यायका लागि पहल गर्न सक्ने अवस्था निर्माण गर्नु आवश्यक रहेको उनको भनाइबाट स्पष्ट हुन्छ ।

प्रहरी सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्नु र सबैलाई समान व्यवहार गर्नु प्रहरी संगठनको महत्त्वपूर्ण जिम्मेवारी हो ।

प्रहरी दिवसको अवसरमा उनले व्यक्त गरेको यो भनाइले प्रहरी सेवा प्रवाहलाई थप सहज, निष्पक्ष र नागरिकमैत्री बनाउने चुनौती अझै कायम रहेको संकेत गरेको छ ।

प्रहरी दिवस हरेक वर्ष प्रहरी संगठनको स्थापना दिवसका रूपमा मनाइन्छ । यस अवसरमा प्रहरीको योगदानको स्मरण गर्नुका साथै संगठनको जिम्मेवारी, सेवा प्रवाह र नागरिकसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइन्छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा सिडिओ भोला दाहाल, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, पर्साका एसपी पवन भट्टराइसहित नागरिक समाज, व्यवसायी तथा पूर्वप्रहरीहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै