ट्रेन्डिङ

पूर्वमन्त्री अजय चौरसिया सहमहामन्त्री बनेपछि वीरगन्जमा उत्साह, निवासमा बधाई दिनेको ओइरो

वीरगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित अजयकुमार चौरसियालाई बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ ।

कांग्रेसको केन्द्रीय पदाधिकारीमा पर्साले पहिलोपटक प्रतिनिधित्व गर्ने अवसर पाएपछि जिल्लाका नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ ।

सहमहामन्त्रीमा निर्वाचित भएपछि वीरगन्जस्थित आफ्नो निवास फर्किएका चौरसियालाई आइतबार बिहानैदेखि बधाई दिन आउने नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ ।

जिल्लाका विभिन्न क्षेत्रबाट आएका कांग्रेस कार्यकर्ताले निवासमै पुगेर उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइरहेका छन् ।

चौरसियाको विजयलाई पर्साको कांग्रेस राजनीतिका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय पर्साले पार्टीको केन्द्रीय पदाधिकारीमा पहिलोपटक प्रतिनिधित्व पाएको भन्दै स्थानीय नेता तथा कार्यकर्ताले खुसी व्यक्त गरेका छन् ।

उनीहरूले चौरसियालाई गम्छा ओढाएर सम्मान गर्नुका साथै जिल्लाको राजनीतिक प्रतिष्ठा बढाएको भन्दै बधाई दिइरहेका छन् ।

निवासमा पुग्ने नेता तथा कार्यकर्ताले चौरसियाको जितलाई व्यक्तिगत सफलतामा मात्र सीमित नराखी पर्साको समग्र राजनीतिक आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

जिल्लाको संगठन सुदृढीकरण, कार्यकर्ताको उचित मूल्यांकन र पर्साका राजनीतिक तथा विकाससम्बन्धी मुद्दालाई केन्द्रीय नेतृत्वसमक्ष प्रभावकारी रूपमा उठाउन उनीहरूले आग्रह गरिरहेका छन् ।

बधाई ग्रहण गर्दै सहमहामन्त्री चौरसियाले जिल्लाको सान र प्रतिष्ठा झुक्न नदिने प्रतिबद्धता जनाएका छन् ।

कार्यकर्ताको भावना, अपेक्षा र सुझावअनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिमा जिल्लाका मुद्दा उठाउने तथा उनीहरूको आवाजको प्रतिनिधित्व गर्ने आश्वासनसमेत उनले दिइरहेका छन् ।

पार्टीको केन्द्रीय पदाधिकारीमा पुगेपछि चौरसियामाथि जिल्लाको संगठनलाई थप बलियो बनाउने र स्थानीय नेता तथा कार्यकर्ताको अपेक्षा सम्बोधन गर्ने जिम्मेवारी पनि थपिएको छ ।

उनको विजयले पर्सा कांग्रेसका कार्यकर्तामा नयाँ उत्साह जगाएको देखिए पनि त्यसलाई संगठनात्मक उपलब्धिमा रूपान्तरण गर्नु उनका लागि मुख्य चुनौती हुनेछ ।

आइतबार बिहानैदेखि चौरसियाको निवासमा देखिएको कार्यकर्ताको बाक्लो उपस्थितिले उनको विजयप्रति जिल्लास्तरमा रहेको उत्साहलाई प्रतिबिम्बित गरेको छ ।

बधाई तथा शुभकामना दिन आउने क्रम जारी रहँदा उनको निवास कांग्रेस नेता तथा कार्यकर्ताबीच भेटघाट र खुसी साटासाट गर्ने केन्द्र बनेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै