वीरगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसियाले सहमहामन्त्री पदमा जित हासिल गरेका छन् ।
मधेसीतर्फको सहमहामन्त्रीमा चौरसिया निर्वाचित भएसँगै कांग्रेसको केन्द्रीय पदाधिकारीमा पर्साबाट प्रतिनिधित्व गर्ने पहिलो नेता बनेका छन् ।
चौरसियाले निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित गरेका हुन् ।
उनको यो जितलाई पर्साको कांग्रेस राजनीतिमा मात्र नभई मधेसमा पार्टीको नेतृत्व र शक्ति सन्तुलनका दृष्टिले समेत अर्थपूर्ण रूपमा हेरिएको छ ।
कांग्रेसको मधेसकेन्द्रित राजनीतिको नेतृत्व लामो समयदेखि जनकपुर क्षेत्रका नेताहरूको प्रभावमा रहँदै आएको चर्चा हुने गरेको थियो ।
यस्तो पृष्ठभूमिमा पर्साबाट चौरसियाले केन्द्रीय पदाधिकारीमा स्थान बनाउनुलाई उक्त परम्परागत प्रभावलाई चुनौतीका रूपमा हेरिएको छ ।
चौरसियाको विजयले कांग्रेसको केन्द्रीय नेतृत्वमा पर्साको उपस्थिति स्थापित गरेको छ ।
यसअघि जिल्लाबाट केन्द्रीय सदस्य तथा अन्य तहका जिम्मेवारीमा नेताहरू पुगे पनि पदाधिकारी तहमा पुग्न नसकेको अवस्थामा उनको जितलाई ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।
महेन्द्र यादवजस्ता मधेसका स्थापित नेतासँगको प्रतिस्पर्धामा चौरसियाले हासिल गरेको सफलताले पार्टीभित्र पर्साको राजनीतिक हैसियतलाई थप चर्चामा ल्याएको छ ।
यो परिणामले मधेसमा कांग्रेसको संगठनात्मक प्रभाव र नेतृत्वको भूगोलबारे नयाँ बहससमेत सिर्जना गर्ने देखिन्छ ।
चौरसियाको जितसँगै पर्साका कांग्रेस नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ ।
उनको विजयले जिल्लाको राजनीतिक प्रतिनिधित्वलाई केन्द्रीय तहमा बलियो बनाउने चर्चा सुरु भएको छ ।