
वीरगन्ज । बैंकिङ कसुर तथा चेक अनादरका मुद्दा पछिल्लो समय बढ्दो देखिएका छन् । वीरगन्ज कारागारमा मात्रै हाल बैंकिङ कसुर र चेक अनादर मुद्दाका ३५ कैदीबन्दी पुगेका छन् ।
कारागार कार्यालयका शाखा एवं सूचना अधिकृत विनय श्रीवास्तवका अनुसार ३५ मध्ये ३१ कैदीबन्दी बैंकिङ कसुरका रहेका छन् । केही वर्षयता बैंकिङ कसुर र चेक अनादर मुद्दाका कैदीबन्दी अदालतमा आउने क्रम बढेको श्रीवास्तव बताउँछन् ।
‘पछिल्ला वर्षमा बैंकिङ कसुर र चेक अनादरका विवाद बढ्दो क्रममा छन्,’ उनले भने, ‘त्यस कारण कैदीबन्दीको संख्या पनि बढ्दै गएको हुनुपर्छ ।’
सरकारले पनि यी मुद्दालाई गम्भीरताका साथ लिई कडाइ गर्ने नीति लिएपछि आपसी लेनदेनका सन्दर्भमा हुने बैंकिङ कसुर र चेक अनादरका घटना प्रहरी र अदालतसमक्ष बढी जान थालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक भारती अन्य क्षेत्रको तुलनामा तराई मधेसमा बैंकिङ कसुर र चेक अनादरका मुद्दाको चाप बढी हुने गरेको बताउँछन् । ‘समग्रमा देशमै यी कसुरका मुद्दा बढेकै छन् तर तराई मधेसमा तुलनात्मक रुपमा झनै बढी चाप रहेको छ,’ उनले भने, ‘तराई मधेसमा कपाली कागज गरिसक्दा पनि सुरक्षाका लागि साहुले ऋणीसँग चेकसमेत लिने प्रवृत्ति छ, अधिकांश यस्ता लेनदेनका घटनामा बैंकिङ कसुर र चेक अनादरको मुद्दा पर्ने गर्छ ।’
सामान्यतया प्रहरीमा यस्ता लेनदेनका उजुरी पर्दा बैंकिङ कसुरको र अदालतमा सोझै मुद्दा पर्दा चेक अनादर शीर्षकमा मुद्दा पर्ने गरेका छन् । प्रहरीमा उजुरी परेपछि प्रहरीले त्यसै अनुरुप बैंकिङ कसुरको मुद्दा सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेस गर्ने गर्छ । कान्तिपुर