ट्रेन्डिङ

फेटा घटनामा इन्सपेक्टरसहित ३८ सरकारी कर्मचारी झन्डै दुई घण्टापछि सकुशल उद्धार

वीरगन्ज । बाराको फेटामा स्वास्थ्य चौकी उद्घाटनको विषयलाई लिएर भएको विवादपछि घेराबन्दीमा परेका प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित ३८ जना सरकारी कर्मचारीलाई झन्डै दुई घण्टापछि सकुशल उद्धार गरिएको छ।

स्थानीय युवक आदित्य पासवानलाई प्रहरीले गोली हानेपछि तनावग्रस्त बनेको घटनास्थलमा रहेका प्रहरी र निजामती कर्मचारी स्वास्थ्य चौकीको मुख्य भवनभित्र घेरिएका थिए।

बिहान साढे १० बजेदेखि भवनभित्र रहेका उनीहरूलाई झन्डै दुई घण्टापछि सुरक्षित रूपमा बाहिर निकालिएको बारा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार घटनापछि अवस्था बिग्रिँदै जाँदा स्वास्थ्य चौकीको मुख्य भवनमा रहेका इन्सपेक्टरसहितका सरकारी कर्मचारी बाहिर निस्कन नसक्ने अवस्थामा पुगेका थिए।

त्यसपछि उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको हो।

शनिबार बिहान फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र उनको विपक्षी समूहबीच विवाद भएको थियो।

विवाद चर्किँदै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ। प्रहरीको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन्।

गोली चलेपछि घटनास्थलको अवस्था थप तनावपूर्ण बनेको थियो।

सोही क्रममा इन्सपेक्टरसहित प्रहरी र निजामती कर्मचारी गरी करिब ३८ जना स्वास्थ्य चौकीको मुख्य भवनभित्र घेरिएका थिए।

उनीहरूलाई सकुशल बाहिर निकालिएपछि उद्धार कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै