वीरगन्ज । पर्साको धोबिनी गाउँपालिका–५ मा ६२ वर्षीया लखरजिया देवीको हत्या गरी नगद तथा गरगहना लुटेको आरोपमा पक्राउ परेका तीन जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
थुनछेक बहसपछि अदालतले धोबिनी गाउँपालिका–५ का २१ वर्षीय चन्दनकुमार पटेलसहित १७ र १५ वर्षका दुई बालकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
मुद्दामा जाहेरवालाको तर्फबाट जिल्ला सरकारी न्यायाधिवक्ता आनन्द न्यौपाने तथा अधिवक्ताहरू केसी लामिछाने, आकाश महतो, औरन्जेब अहमद र मेराज अन्सारीले बहस गरेका थिए ।
गत असोज ५ गते बिहान करिब ८ बजे लखरजिया देवी आफ्नै घरको दोस्रो तलास्थित बीचको कोठामा मृत फेला परेकी थिइन् ।
घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तीनै जना असोज ४ गते राति चोरी गर्ने योजनासहित वृद्धाको घरमा प्रवेश गरेका थिए ।
उनीहरू घरको पछाडिपट्टिको बाटो हुँदै माथिल्लो तलामा पुगेका थिए ।
त्यसपछि झ्यालको ग्रिलको ढोका तोडेर घरभित्र पसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
घरभित्र प्रवेश गरेपछि उनीहरूले अर्को कोठामा राखिएको टिनको बाकसको ताला फुटाउन थालेका थिए ।
सोही क्रममा तल्लो तलामा सुतिरहेकी लखरजिया देवी आवाज सुनेर माथि पुग्दा उनीहरूले चोरी गरिरहेको देखेकी थिइन् ।
प्रहरीका अनुसार चोरी गरिरहेको अवस्थामा देखेपछि तीनै जनाले वृद्धाको हत्या गरेको र घरमा रहेको नगद तथा गरगहना लिएर फरार भएका थिए ।
घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको थियो ।