ट्रेन्डिङ

पर्साको धोबनीमा लागु औषध गाँजा सेवन गरी वृद्ध महिलाको हत्या, तीनजना पक्राउ

वीरगन्ज । पर्साको धोबनी गाउँपालिकामा चोरी गर्ने क्रममा वृद्ध महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धोबनी गाउँपालिका–५ का चन्दन कुमार, राजकपुर बैठा र रामु पासवान रहेका छन् ।

उनीहरूलाई ६२ वर्षीया लखरजिया देवीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत असोज ५ गते राति धोबनी गाउँपालिका–५ निवासी श्रीनिवास साह तुरहाको घरमा तीनै जना चोरी गर्न पुगेका थिए ।

घरको ताल्चा फुटाएर चोरी गरिरहेको आवाज सुनेपछि लखरजिया देवी दोस्रो तलातर्फ जान लागेकी थिइन् ।

सोही क्रममा आफूहरूलाई चोरी गरिरहेको थाहा पाएपछि लखरजिया देवीको हत्या गरेको प्रारम्भिक बयान पक्राउ परेकाहरूले प्रहरीसमक्ष दिएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले लागुऔषध गाँजा सेवन गरेको अवस्थामा चोरी तथा हत्या गरेको बयान दिएका छन् ।

उनीहरूको बयानका आधारमा घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेका तीनैजनाको साथबाट चोरी गरिएको नगद तथा गरगहनासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै