ट्रेन्डिङ

बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

शुक्रबार राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट स्कुटर चालक मोरङको लाङटाङ नगरपालिका–१ का करिब ३५ वर्षीय योगेन्द्र मगर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।

दुर्घटनापछि प्रहरीले उद्धार गरी मगरलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको थियो ।

उपचारका क्रममा राति साढे ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय अमलेखगन्ज र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालक जितपुरसिमरा उपमहानगरपालिका–२१ का करिब ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै