ट्रेन्डिङ

जसपा पर्साका अध्यक्ष तबरेज अहमद कांग्रेसमा किन गरे प्रवेश ?

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) पर्साका जिल्ला अध्यक्ष तबरेज अहमद नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार वीरगन्जमा आयोजित एक कार्यक्रममा अहमदले जसपा परित्याग गर्दै नेपाली कांग्रेसको सदस्यता लिएका हुन् ।

उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री रमेश रिजालले गम्छा ओढाएर कांग्रेसमा स्वागत गरे ।

अहमद यसअघि राष्ट्रिय भूमि समस्या समाधान आयोग पर्साका निवर्तमान अध्यक्षसमेत थिए ।

मधेस आन्दोलनपछि मधेस केन्द्रित राजनीतिक दलमा सक्रिय रहँदै आएका उनी उपेन्द्र यादव नेतृत्वको तत्कालीन जसपा नेपालमा जिल्ला सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

पार्टी प्रवेशपछि अहमदले संघीयता, लोकतन्त्रलगायत मधेस आन्दोलन तथा विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण र संस्थागत विकासका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए ।

“संघीयता, लोकतन्त्रलगायतका उपलब्धि संस्थागत गर्न कांग्रेस बलियो हुन आवश्यक छ भन्ने मेरो बुझाइ हो,” उनले भने, “देशले अहिले नयाँ पुस्ता र युवा नेतृत्व खोजिरहेको छ । कांग्रेस पनि युवा नेतृत्वलाई अगाडि बढाउने दिशामा अघि बढेकाले मैले कांग्रेस रोजेको हुँ ।”

अहमदको कांग्रेस प्रवेशलाई पर्सा क्षेत्र नम्बर ४ मा पार्टीको संगठन विस्तारसँग जोडेर हेरिएको छ ।

पूर्वमन्त्री रिजालले शिक्षित तथा बौद्धिक युवा अहमदको प्रवेशले कांग्रेसलाई थप ऊर्जा मिल्ने बताए ।

उनले अहमदको राजनीतिक अनुभव र सक्रियताले क्षेत्र नम्बर ४ मा कांग्रेसको संगठनलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मधेस प्रदेशका वनमन्त्री शंकर चौधरी, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सहसचिव नवीन सिंह, कांग्रेस नेता वशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सचिव बलिष्टर अहमदलगायतको उपस्थिति थियो ।

कार्यक्रम कांग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै