ट्रेन्डिङ

हिरासतका थुनुवा र प्रहरी कर्मचारीका लागि पर्सामा ‘स्वास्थ्य सेवा’ सम्झौता, के के जाँच गरिन्छ ?

वीरगन्ज । प्रहरी हिरासतमा रहेका थुनुवा तथा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी कर्मचारीले अब प्रहरी परिसरमै नियमित स्वास्थ्य परीक्षणको सुविधा पाउने भएका छन् ।

उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि वीरगन्ज हेल्थ केयर अस्पताल र जिल्ला प्रहरी कार्यालय पर्साबीच एक वर्षे सम्झौता भएको छ ।

सम्झौताअनुसार हरेक शुक्रबार वीरगन्ज हेल्थ केयर अस्पतालका चिकित्सक जिल्ला प्रहरी कार्यालय परिसरमा पुगेर हिरासतमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गर्नेछन् ।

परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएमा अस्पतालमार्फत उपचार सेवा उपलब्ध गराइनेछ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष अबुलहैस अन्सारी र पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई समयमै स्वास्थ्य परीक्षण तथा उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सम्झौता गरिएको प्रहरीले जनाएको छ ।

हिरासतमा रहेका थुनुवाको स्वास्थ्य अवस्था नियमित रूपमा परीक्षण हुनु आवश्यक हुने भएकाले प्रहरी परिसरमै चिकित्सकको पहुँच पुर्‍याउने व्यवस्था गरिएको हो ।

एसपी भट्टराईले संविधानले सुनिश्चित गरेको नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण तथा प्रवर्द्धनका लागि अस्पतालसँग सहकार्य गरिएको बताए ।

उनका अनुसार हिरासतमा रहेका थुनुवासहित प्रहरी कर्मचारीको स्वास्थ्य अवस्थालाई समेत प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिनेछ ।

सम्झौता अन्तर्गत न्यूरो, कार्डिएक तथा स्पाइनल इन्जुरीसम्बन्धी स्वास्थ्य समस्याको उपचारसमेत गरिने जनाइएको छ ।

त्यस्तै, ‘बिमा नागरिक कार्यक्रम’ अन्तर्गत एक लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध गराइने अस्पताल प्रशासन प्रमुख भूमिका अधिकारीले बताइन् ।

यस व्यवस्थाबाट सामान्य स्वास्थ्य परीक्षणदेखि आवश्यकताअनुसार विशेषज्ञ उपचारसम्मको पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी सम्झौताको अवधि एक वर्ष रहनेछ ।

सम्झौता कार्यक्रममा डीएसपी चक्रबहादुर मल्ल, राजु कार्की, अस्पताल प्रशासनका कर्मचारी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीहरूको सहभागिता थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै