वीरगन्ज । आज असोज १ गते देशभर भगवान् विश्वकर्माको पूजा आराधना गरी ‘विश्वकर्मा पूजा’ मनाइँदै छ।
उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप, व्यापारिक प्रतिष्ठानदेखि घरघरमा प्रयोग हुने विभिन्न यन्त्र, औजार, मेसिन तथा सवारीसाधनको पूजा गरी यो पर्व मनाउने गरिन्छ।
विश्वकर्मा जयन्तीका रूपमा समेत मनाइने यस दिन बिहानैदेखि विभिन्न शक्तिपीठ तथा मन्दिरमा सवारीसाधन लिएर पूजा गर्न जानेहरूको चहलपहल बढेको छ।
नयाँ सवारीसाधन खरिद गरेका तथा पुराना सवारीसाधनको समेत पूजा गराउनेहरू मन्दिर परिसरमा पुगेका छन्।
उद्योग तथा कलकारखानामा कार्यरत मजदुर, प्राविधिक, शिल्पकार, कलाकार र उद्यमीहरूले आफ्ना काममा प्रयोग हुने मेसिन तथा औजारको सरसफाइ गरी विधिपूर्वक पूजा गर्ने गरेका छन्।
कार्यक्षेत्रमा प्रयोग हुने उपकरणको पूजा गर्दा काममा सफलता, सीप तथा दक्षता बढ्ने र बाधा–अड्चन हट्ने धार्मिक विश्वास छ।
धार्मिक मान्यताअनुसार भगवान् विश्वकर्मालाई निर्माण, वास्तुकला, प्रविधि र सीपका देवताका रूपमा पुजिन्छ।
पौराणिक कथनमा उनलाई संसारकै पहिलो वास्तुकार तथा इन्जिनियरका रूपमा समेत वर्णन गरिएको छ।
विश्वकर्माले तीनै लोकको निर्माण गरेको धार्मिक विश्वास पाइन्छ।
सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति निर्माण गरेको पौराणिक कथामा उल्लेख छ।
कृष्णको द्वारका, पाण्डवहरूको मयसभा तथा देवताका विभिन्न अस्त्र–शस्त्रसमेत विश्वकर्माले निर्माण गरेको धार्मिक मान्यता छ।
ऋग्वेदका विभिन्न ऋचामा समेत विश्वकर्माको महिमा वर्णन गरिएको पाइन्छ।
सृष्टिसँगै मानव जीवनका सिर्जनात्मक कर्म र निर्माण कार्यसँग विश्वकर्मालाई जोडेर हेर्ने गरिन्छ।
धार्मिक विश्वासअनुसार विश्वकर्माको पूजा गरेमा व्यक्तिमा सीप, दक्षता र ज्ञानको विकास हुनुका साथै कार्यक्षेत्रमा सफलता र समृद्धि प्राप्त हुने मान्यता छ।
त्यसैले विशेषगरी मेसिन, औजार, प्रविधि र सवारीसाधनसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्ति तथा व्यवसायीले यस दिनलाई विशेष महत्त्व दिने गरेका छन्।
पौराणिक कथामा द्वापरयुगमा राक्षसबाट कृष्णलाई जोगाउन विश्वकर्माले समुद्रको बीचमा एकै रातमा ‘भेद द्वारका’ निर्माण गरेको उल्लेख पाइन्छ।
उक्त स्थान हाल भारतको गुजरातस्थित समुद्री क्षेत्रमा रहेको विश्वास गरिन्छ।
त्यस्तै, वाराणसीमा बस्ने एक कुशल रथकार दम्पतीसँग सम्बन्धित अर्को कथासमेत विश्वकर्मा पूजासँग जोडिएको छ।
सन्तानविहीन तथा आर्थिक कठिनाइमा रहेका ती दम्पतीले ब्राह्मणको सल्लाहअनुसार भगवान् विश्वकर्माको पूजा गरेपछि धन–धान्य र सन्तान प्राप्त भएको पौराणिक कथन छ।
यिनै धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा हरेक वर्ष असोज १ गते विश्वकर्माको पूजा गर्ने परम्परा रहँदै आएको छ।
यस दिन विशेषगरी उद्योग, कलकारखाना, वर्कसप, ग्यारेज, निर्माण क्षेत्र तथा यातायातसँग सम्बन्धित क्षेत्रमा विश्वकर्माको पूजा गरी काममा प्रयोग हुने उपकरण तथा सवारीसाधनलाई सजाउने प्रचलन छ।