वीरगन्ज । पर्साको परवानीपुरस्थित मनोज ग्यास उद्योग प्रालिले वीरगन्ज महानगरपालिका–२१ स्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयका एक शिक्षकको एक वर्षको तलबबापतको रकम सहयोग गरेको छ ।
उद्योगले विद्यालयलाई शिक्षकको तलब सहयोगस्वरूप १ लाख ४४ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
उद्योगका सञ्चालक मनोजकुमार दासले विद्यालयका प्रधानाध्यापक नन्दकिशोर रामलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक नन्दकिशोर रामको अध्यक्षतामा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरिएको उद्योगले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक सुनीलकुमार झा, वीरगन्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियार, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा स्थानीय समाजसेवी एवं शिक्षाप्रेमी जितेन्द्र कुर्मी, व्यवस्थापन समिति सदस्य, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा उद्योगका कर्मचारीको सहभागिता थियो ।
मनोज ग्यास उद्योगले विगत चार वर्षदेखि उक्त विद्यालयलाई शिक्षकको तलब सहयोग गर्दै आएको जनाएको छ ।
उद्योगका अनुसार यसअघि पनि विद्यालयलाई वार्षिक १ लाख ४४ हजार रुपैयाँका दरले शिक्षकको तलब सहयोग उपलब्ध गराउँदै आएको छ ।
यसैगरी उद्योगले वीरगन्ज महानगरपालिका–२१ स्थित लिपनीविर्ता स्वास्थ्य चौकीलाई दुई टन क्षमताको एक थान एयर कन्डिसनरसमेत सहयोग गरेको जनाएको छ ।
करिब १ लाख ३० हजार रुपैयाँ मूल्य पर्ने उक्त एयर कन्डिसनर स्वास्थ्य चौकीको प्याथोलोजी ल्याबमा जडान गर्ने गरी उपलब्ध गराइएको उद्योगले जनाएको छ ।
उद्योगले शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको बताएको छ ।