वीरगन्ज । वीरगन्ज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवन निर्माण कार्य छिट्टै अगाडि बढ्ने भएको छ।
भवन निर्माणको अवस्थाबारे अनुगमन तथा आवश्यक समन्वयका लागि वीरगन्ज पुगेकी मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको विशेष उपस्थितिमा जिल्ला समन्वय समिति पर्सामा भएको छलफलमा निर्माण कार्य तत्काल अघि बढाउने प्रतिबद्धता जनाइएको हो।
जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफको अध्यक्षतामा बसेको बैठकमा मन्त्री थापा, श्रम तथा यातायात मन्त्रालयका सचिव निरञ्जन साह, जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरण प्रसाद कुर्मी, यातायात व्यवस्था कार्यालयका प्रमुख कुसेश्वर साहलगायतको उपस्थिति थियो।
बैठकमा भेडियाहीमा रोकिएको भवन निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने तथा निर्माणसँग सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्ने विषयमा छलफल भएको थियो।
तोकिएको समयभित्र निर्माण कार्य सुरु गराउन जिल्ला समन्वय समितिले विशेष पहल गर्ने सहमति पनि भएको छ।
यसैबीच, नयाँ भवन निर्माण सम्पन्न नभएसम्म यातायात व्यवस्था कार्यालयलाई तत्कालका लागि जिल्ला समन्वय समितिको पुरानो भवनबाट सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ।
जिल्ला समन्वय समिति पर्साका अध्यक्ष सर्राफका अनुसार प्रतिमा चोकमा सञ्चालन हुँदै आएको यातायात व्यवस्था कार्यालयलाई समन्वय समितिको पुरानो भवनबाट सञ्चालन गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ।
उनका अनुसार कार्यालय स्थानान्तरणका लागि आवश्यक समन्वय भइरहेको छ। मन्त्री थापाले पनि रोकिएको भवन निर्माण कार्यलाई सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै अगाडि बढाउने प्रतिबद्धता जनाएकी छन्।
भेडियाहीमा निर्माणाधीन आफ्नै भवन तयार भएपछि यातायात व्यवस्था कार्यालयलाई त्यहीँबाट नियमित रूपमा सञ्चालन गर्ने तयारी छ।