वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका, मुद्दा खेपिरहेका तथा घाइते भएका युवालाई तत्काल न्याय दिन सरकारसँग माग गरेका छन्।
उनले बुधबार प्रतिनिधिसभाका सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै जेनजी आन्दोलनका क्रममा भएको घटनाको निष्पक्ष न्यायिक सम्बोधन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका हुन्।
पन्तले जेनजी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेथिति, दण्डहीनता र भ्रष्टाचारविरुद्ध युवाले गरेको विद्रोहलाई अर्थपूर्ण राजनीतिक हस्तक्षेपका रूपमा स्मरण गर्नुपर्ने बताएका छन्।
उनले तत्कालीन ओली सरकारको पालामा आन्दोलनका क्रममा भएको घटनापछि सरकार परिवर्तन हुँदै वर्तमान संसद् र सरकारसम्म आइपुग्दा आन्दोलनकारी युवाले देखेका सपना कति पूरा भए र कति पूरा हुने क्रममा छन् भन्ने समीक्षा आवश्यक रहेको उल्लेख गरेका छन्।
ज्ञापनपत्रमा पन्तले आन्दोलनका क्रममा सहभागी भएका धेरै युवा अझै जेलमा रहेको, कतिपयले मुद्दा खेपिरहेको र केही फरार हुन बाध्य भएको उल्लेख गरेका छन्।
‘गोली खाने र गोली खान तयार हुनेचाहिँ दोषी हुने अनि गोली हान्ने र हान्न लगाउनेचाहिँ निर्दोष ठहरिने, यो कस्तो न्याय हो ?’ पन्तले प्रश्न गरेका छन्।
उनले जेनजी आन्दोलनकै जगमा भएको निर्वाचनबाट आफू निर्वाचित भएको उल्लेख गर्दै आन्दोलनकारी युवालाई दोषी ठहर गरिए आफू पनि दोषी हुने दाबी गरेका छन्।
‘यदि ती भाइबहिनीहरू दोषी हुन् भने त्यही आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित म पनि दोषी हुँ। यो सरकारका मन्त्रीहरू र प्रधानमन्त्री पनि दोषी हुन्,’ ज्ञापनपत्रमा भनिएको छ।
पन्तले आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका तथा घाइते भएका सबैलाई यथाशीघ्र न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।