वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवलाई वीरगन्जस्थित क्यासिनो प्रकरणमा राजनीतिकरूपमा फसाइएको दाबी गरिएको छ ।
शनिबार राति वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोमा प्रहरीले छापा मार्दा अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकामध्ये इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलसमेत छन् ।
तर, अध्यक्ष यादव क्यासिनोमा जुवा खेल्नकै लागि पुगेको भन्ने प्रहरीको दाबीमाथि प्रश्न उठेको छ ।
स्रोतका अनुसार यादवलाई प्रहरी निरीक्षक पौडेलले पटक–पटक फोन गरेपछि उनी क्यासिनो पुगेका थिए ।
‘इन्सपेक्टर पौडेलले पटक–पटक फोन गरेपछि अध्यक्ष यादव त्यहाँ पुगेका हुन्,’ स्रोतले भन्यो, ‘उहाँ लामो समय क्यासिनोमा बसेको पनि होइन ।’
स्रोतका अनुसार यादव क्यासिनोमा प्रवेश गरेपछि करिब १९ मिनेट मात्रै त्यहाँ बसेका थिए । यद्यपी, प्रहरीले भने क्यासिनोभित्र बाट नभइ बाहिरबाट नियन्त्रणमा लिएको बताइएको छ । त्यसअघि उनी वीरगन्जको सामाजिक संस्था जिल्ला समन्वय समितिमा एक लेनदेनको मुद्दामा छलफलमा थिए ।
स्रोतका अनुसार त्यही छलफल चलिरहँदा ती इन्सपेक्टर साहेबको फोन तारन्तार आएपछि अध्यक्ष यादव उनलाइ भेट्न क्लार्क रिसोर्ट पुगेको स्रोतको दाबी छ ।
यद्यपी, प्रहरीले भने विशेष सूचनाका आधारमा क्यासिनोमा छापा मार्दा नेपाली नागरिकहरू जुवा खेलिरहेको अवस्थामा फेला परेको र उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईका अनुसार क्यासिनोभित्र केही नेपाली प्रवेश गरेको सूचना आएपछि प्रहरी टोलीले छापा मारेको थियो ।
सो क्रममा अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहित ८ जनालाई नियन्त्रणमा लिइएको हो ।
‘जुवा खेल्न गएको भए १९ मिनेटको घटनाले प्रश्न उठाउँछ’
अध्यक्ष यादवलाई क्यासिनोबाट पक्राउ गरिएको घटनाले राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ ।
यादवलाई नियोजितरूपमा विवादमा तानिएको र राजनीतिक प्रतिशोधका कारण घटनालाई ठूलो बनाइएको उनीनिकट व्यक्तिहरूको दाबी छ ।
यादव क्यासिनोमा जुवा खेल्नकै लागि गएको भए उनी त्यहाँ कति समय बसे, क्यासिनो प्रवेश गर्नुको वास्तविक कारण के थियो र प्रहरी निरीक्षक पौडेलले उनलाई किन पटक–पटक फोन गरे भन्ने विषय महत्वपूर्ण बन्न पुगेको छ ।
विशेषगरी प्रहरी निरीक्षककै लगातार फोनपछि यादव क्यासिनो पुगेको र त्यहाँ करिब १९ मिनेट मात्रै बसेको स्रोतको दाबीले घटनाको अनुसन्धानको कोण नै बदलिन सक्ने यादव पक्षको बुझाइ छ ।
‘कसैलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो भने त्यसको प्रमाण र त्यसअघि भएको सम्पूर्ण घटनाक्रम पनि सार्वजनिक हुनुपर्छ,’ यादव निकट स्रोतले भन्यो, ‘फोन गरेर बोलाउने अनि पुगेको केही मिनेटमै छापा हानेर पक्राउ गर्ने घटनाले उहाँलाई फसाइएको आशंका बढाएको छ।’
यद्यपि, यादवले क्यासिनोमा जुवा खेलेका थिए वा थिएनन् भन्ने विषयमा प्रहरीले सार्वजनिक रूपमा कुनै थप प्रमाण सार्वजनिक गरेको छैन ।
प्रहरीले सबैलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
अध्यक्ष यादवको पक्राउलाई लिएर उनका समर्थकहरूले भने यसलाई राजनीतिक शिकार बनाउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी यादव क्यासिनो पुग्नुको वास्तविक कारण, प्रहरी निरीक्षक पौडेलसँग भएको फोन सम्पर्क र क्यासिनोमा बिताएको समयबारे समेत अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
यता प्रहरीले भने विशेष सूचनाका आधारमा छापा मारिएको र क्यासिनोमा नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा भेटिएपछि कानुनअनुसार नियन्त्रणमा लिइएको बताउँदै आएको छ ।
यादवसहित पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।