सिरहा । स्रोत नखुलेको करिब १४ लाख रुपैयाँसहित सिरहा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
सिरहा नगरपालिका–७ हेमनारायण चोकस्थित सडकखण्डबाट स्रोत नखुलेको रकमसहित सिरहा नगरपालिका–२ बस्ने ३५ वर्षीय शम्भु महाशेठ पक्राउ परेका हुन् ।
बिहीबार बेलुका करिब ७ बजे हुण्डी कारोबारको नेपाली रुपैयाँ बोकेर हिँडिरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनको साथबाट बरामद रकमको स्रोतबारे सोधपुछ गर्दा कुनै प्रमाण वा कागजात पेस गर्न नसकेपछि रकमसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले उनको साथबाट विभिन्न दरका गरी १३ लाख ९२ हजार ४ सय रुपैयाँ बरामद गरेको जनाएको छ ।
पक्राउ परेका महाशेठविरुद्ध रकमको स्रोत खुलाउन नसकेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।