ट्रेन्डिङ

९० हजार रुपैयाँमा साउदी अरबमा बेचेको आरोपमा एकजना १९ वर्षपछि पर्साबाट पक्राउ

वीरगन्ज । मानव बेचबिखनको आरोपमा पर्सा प्रहरीले एकजनालाई १९ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले सखुवा प्रसौनी गाउँपालिका–४ का अयुब मियाँ अन्सारीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार अन्सारीमाथि एक जनालाई भारत हुँदै कतार पुर्‍याएर त्यहाँबाट साउदी अरबमा बेच्न सहयोग गरेको आरोप छ ।

प्रहरीका अनुसार २०६३ साल चैत १५ गते रोजगारीको सिलसिलामा वीरगन्ज महानगरपालिका–श्रीपुरकी ‘क’ नामएक जनालाइ भारत हुँदै कतार पुर्‍याइएको थियो ।

त्यसपछि उनलाई साउदी अरब पुर्‍याएर बिक्री गरिएको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

जाहेरीमा कतार पुर्‍याएपछि त्यहाँ २–३ दिन आफूसँग राखेर अब्दुल कादिर भन्ने कादिर अन्सारीले ९० हजार रुपैयाँमा साउदी अरबमा उनलाई बिक्री गरेको उल्लेख छ ।

उक्त घटनाको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा अयुब मियाँ अन्सारीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको डीएसपी मल्लले बताए ।

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा पक्राउ परेका अन्सारीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै