सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरी सवारीसाधन तोडफोड गरेको घटनामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झालाई कुटपिट गरिएको भन्दै सामाजिक सञ्जालमा भिडियो सामग्री सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय मलंगवाको ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरीका अनुसार विद्यालयमा सरसफाइ गराउने विषयमा विद्यार्थीलाई गालीगलौज तथा दुर्व्यवहार गरेको विषयलाई लिएर विद्यालयका विद्यार्थी र शिक्षकबीच छलफल भइरहेको अवस्थामा प्रधानाध्यापक झामाथि कुटपिट भएको थियो ।
कुटपिटबाट झा सामान्य घाइते भएको तथा उनको सवारीसाधनसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका–२ का २० वर्षीय अभिषेक कापडलाई तत्काल नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डीएसपी वेदप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत थप अनुसन्धान भइरहेको उल्लेख छ ।
प्रहरीले सामाजिक सञ्जालमा प्रसारित भिडियो सामग्रीका सम्बन्धमा समेत गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको वास्तविकता अनुसन्धानबाट खुल्ने जनाएको छ ।