सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठवाकी १० वर्षीया बालिका चाँदकुमारी यादव तीन दिनदेखि बेपत्ता भएकी छन् ।
रामविनय यादवकी छोरी चाँदकुमारी आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् ।
उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।
परिवारका अनुसार आइतबार बिहान करिब ११ बजे आमा मञ्जु देवी घाँस लिएर घर फर्किएकी थिइन् ।
त्यस क्रममा छोरी आफूले काटेको घाँस लिन खेततर्फ गएको जानकारी पाएपछि उनी पुनः खेततर्फ गएकी थिइन् । तर, खेतमा पुग्दा चाँदकुमारी त्यहाँ भेटिइनन् ।
त्यसपछि परिवार, आफन्त र प्रहरीले बालिकाको खोजी सुरु गरेका थिए ।
आइतबार साँझदेखि नै विभिन्न स्थानमा खोजी भइरहेको भए पनि हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बालिकाको खोजी कार्य जारी रहेको जानकारी दिए ।
रामविनयका दुई छोरा र दुई छोरी छन् । बेपत्ता भएकी चाँदकुमारी जेठी छोरी हुन् ।
उनी धनकौल बजारस्थित सरकारी विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको परिवारले जनाएको छ ।
आमा मञ्जु देवीले गाउँमा आफूहरूको कसैसँग विवाद नरहेको बताउँदै छोरीलाई कसैले मोटरसाइकलमा लगेको वा अन्य कुनै अप्रिय घटना भएको हुनसक्ने आशंका व्यक्त गरेकी छन् ।
प्रहरीले भने घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गर्दै बालिकाको खोजी गरिरहेको जनाएको छ ।