वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट जन्मेको करिब १७ घण्टामै एक नवजात शिशु चोरी भएको छ ।
आइतबार राति अस्पतालको बेडबाटै एकदिने बालक चोरी भएको पर्सा प्रहरीले पुष्टि गरेको छ ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार परिचय खुल्न नसकेकी करिब ३५ वर्षीया एक महिलाले शिशुलाई खेलाउने बहाना बनाएर लिएर फरार भएकी हुन् ।
प्रहरीका अनुसार ती महिलाले नवजात शिशुकी हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी थिइन् । हजुरआमाले बच्चा दिएपछि ती महिला शिशुसहित अस्पतालबाट बेपत्ता भएकी थिइन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा महिलाले झुक्याएर शिशु लिएर फरार भएको खुलेको डीएसपी मल्लले बताए ।
घटना सार्वजनिक भएलगत्तै प्रहरीले नवजात शिशुको खोजी तीव्र बनाएको जनाएको छ ।
शिशु चोरीमा संलग्न महिलाको पहिचान तथा खोजीका लागि प्रहरीले विभिन्न स्थानमा निगरानी बढाएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वा निवासी रिन्कु देवीले शल्यक्रियामार्फत शनिबार राति करिब ११ बजे उक्त बालकलाई जन्म दिएकी थिइन् ।
जन्मेको करिब १७ घण्टामै अस्पतालबाट शिशु चोरी भएपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।