ट्रेन्डिङ

पर्साका सांसद पन्तको टिप्पणी– ‘प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा अराजकता बढ्यो’

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद (हरि) पन्तले प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा अराजकता बढ्दै गएको टिप्पणी गरेका छन्।

मध्य नेपाल सन्देश साप्ताहिकको ११औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सांसद पन्तले पछिल्लो समय पत्रकारिताको नाममा व्यक्तिको व्यक्तिगत तथा राजनीतिक चरित्र हत्या गर्ने प्रवृत्ति बढेको बताए।

उनले पत्रकारिताको मूल धर्म तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नु भएको भन्दै कसैलाई बदनाम गर्ने उद्देश्यले समाचार लेख्नु पत्रकारिताको आचारसंहिताभित्र नपर्ने बताए।

‘पत्रकारले समाजमा जे देख्यो, त्यही तथ्यका आधारमा लेख्नुपर्छ,’ उनले भने, ‘तर कसैको व्यक्तित्व वा राजनीतिक चरित्र हत्या गर्ने नियतले पत्रकारिता गर्नु हुँदैन।’

निजी सञ्चारमाध्यमलाई विज्ञापन रोकिएको विषयमा यस्तो स्पष्टीकरण

सरकारले निजी सञ्चारमाध्यमलाई विज्ञापन वितरणमा रोक लगाएको विषयमा पनि सांसद पन्तले स्पष्टीकरण दिएका छन्।

उनका अनुसार विज्ञापन वितरण प्रणाली व्यवस्थित गर्नका लागि केही समय रोक लगाइएको हो।

उनले यो व्यवस्था स्थायी नरहेको दाबी गर्दै आगामी दिनमा पुनः विज्ञापन वितरण हुने बताए।

तर कार्यक्रममा नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केसी लामिछानेले सरकारको कदमप्रति असन्तुष्टि जनाए।

उनले निजी सञ्चारमाध्यमलाई विज्ञापन वितरणमा निषेध गरेर सरकारले ‘आर्थिक नाकाबन्दी’ लगाएको आरोप लगाए।

लोककल्याणकारी विज्ञापनमा समेत रकम कटौती गरेर सरकारले सञ्चारमाध्यममाथि थप आर्थिक भार थपेको उनको भनाइ थियो।

लामिछानेले सञ्चारमाध्यममाथि लगाइएको आर्थिक नाकाबन्दी हटाउन पहल गर्न सांसद पन्तसँग आग्रहसमेत गरे।

मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा, मिडिया काउन्सिल मधेस प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झा, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य डा. सुवोध गुप्तालगायतले शुभकामना मन्तव्य दिएका थिए।

वार्षिकोत्सवका अवसरमा मध्य नेपाल सन्देशले मिडिया काउन्सिल मधेस प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झासहित निलम पन्त, रञ्जित यादव र कपिल थापालाई सम्मान गरेको थियो।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन सूर्यनारायण विकले गरेका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै