जनकपुर । नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि आफ्नो एक दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ।
एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले बिहीबार सूचना जारी गर्दै संसदीय दलका सम्पूर्ण प्रदेशसभा सदस्यहरूको एक दिनको तलब रसुवा बाढीपीडितका लागि सहयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संसदीय दलले विपद्को यस घडीमा प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।
साथै, बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
एमाले मधेस प्रदेश संसदीय दलले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ।