ट्रेन्डिङ

रसुवा बाढी–पहिरोमा मधेशका ३० जना सम्पर्कविहीन, पर्साका मात्रै १७ जना

वीरगन्ज । रसुवामा आएको बाढी–पहिरोपछि मधेश प्रदेशका विभिन्न जिल्लाबाट ३० जना सम्पर्कविहीन भएको भन्दै प्रहरीमा निवेदन परेको छ।

मधेश प्रदेश प्रहरी कार्यालयले परिवार तथा आफन्तबाट प्राप्त विवरणका आधारमा ३० जनाको नामावली सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार रसुवा बाढी–पहिरोमा परी सम्पर्कविहीन भएको भन्दै मधेशका पाँच जिल्लाबाट प्रहरीमा जानकारी आएको छ।

सबैभन्दा धेरै पर्साबाट १७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी ओमप्रसाद अधिकारीका अनुसार परिवार तथा आफन्तले दिएको सूचनाका आधारमा सम्पर्कविहीनको विवरण संकलन गरिएको हो।

प्रहरीले सूचीमा रहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।

जिल्लागत रूपमा हेर्दा पर्साबाट १७ जना, बाराबाट ३ जना, रौतहटबाट २ जना, सर्लाहीबाट ६ जना र सप्तरीबाट २ जना सम्पर्कविहीन भएको भन्दै प्रहरीमा निवेदन परेको छ।

पर्साबाट सम्पर्कविहीन भएको सूचीमा वीरगन्ज महानगरपालिकाका साथै बारा, मकवानपुर र सिन्धुलीलगायत जिल्लाका स्थायी ठेगाना भएका तर हाल पर्सामा बसोबास गर्ने व्यक्तिहरू पनि छन्।

पर्साको सूचीमा रहेका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान भने उद्धारपछि सम्पर्कमा आइसकेको उल्लेख छ।

त्यसैले प्रहरीमा परेको प्रारम्भिक विवरणअनुसार ३० जनाको नामावली रहे पनि हाल सम्पर्कविहीन रहेका व्यक्तिको संख्या २८ जना देखिन्छ।

कुन जिल्लाबाट कति जना ?

पर्सा — १७ जना
सर्लाही — ६ जना
बारा — ३ जना
रौतहट — २ जना
सप्तरी — २ जना

जम्मा — ३० जना (प्रहरीमा परेको प्रारम्भिक विवरण)

पर्साका १७ जनामध्ये दुई जना उद्धारपछि सम्पर्कमा आइसकेकाले हाल २८ जना सम्पर्कविहीन रहेको विवरणबाट देखिन्छ।

प्रहरीले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै