वीरगन्ज । पर्सामा २४ घण्टाको अवधिमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
मंगलबार बिहान पटेर्वा सुगौली गाउँपालिका–१ स्थित भाटा मेला जाने बाटोमा एक युवकको शव फेला परेको हो।
पर्सा प्रहरीले दिएको जानकारीअनुसार मृतक बारा जिल्लाको विश्रामपुर गाउँपालिका निवासी २५ वर्षीय आकाश राम हुन्।
पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लका अनुसार रामको शव बाटोमा मृत अवस्थामा फेला परेको थियो।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ।
यसअघि सोमबार राति पनि वीरगन्ज महानगरपालिका–२० स्थित हरपतगंज सडकको कल्भर्टमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए।
अन्दाजी ४० वर्षीय भुलन रामको शव नहरमा फेला परेको प्रहरीले जनाएको थियो।
यसरी पछिल्लो २४ घण्टाको अवधिमा पर्साका दुई छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका हुन्।
दुवै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।