वीरगन्ज । पर्सामा प्रहरीले करिब १० लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका कपडासहित एकजनालाई पक्राउ गरेको छ।
जिराभवानी गाउँपालिकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भन्सार छलीका कपडासहित वीरगन्ज महानगरपालिका–१७ का दीपेन्द्र साहलाई पक्राउ गरेको हो।
पर्साका प्रहरी प्रमुख पवन भट्टराईका अनुसार कपडा तस्करी भइरहेको सूचनाका आधारमा गरिएको जाँचका क्रममा साहको साथबाट १२ बोरा कपडा बरामद भएको थियो।
प्रहरीले साहले प्रयोग गरेको भारतीय नम्बर प्लेटको बीआर २२ बी ०६ ००१७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
बरामद कपडा र मोटरसाइकलसहित पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।