ट्रेन्डिङ

संघीय सरकारको सहमति नलिई भारत भ्रमणमा मधेशका मुख्यमन्त्री यादव

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव संघीय सरकारको औपचारिक सहमतिबिनै भारत भ्रमणमा गएको पाइएको छ।

मुख्यमन्त्री यादव गत शुक्रबार भारतको देवघरस्थित बाबा वैद्यनाथ धाम (बाबाधाम) भ्रमणका लागि भारत गएका हुन्।

प्रदेश सरकारका गृहमन्त्री फकिरा महतोका अनुसार मुख्यमन्त्री यादव केही प्रदेश मन्त्री र स्वकीय सचिवसहित भारत गएका हुन्।

धार्मिक भ्रमणका क्रममा उनले विभिन्न भेटघाट तथा कार्यक्रममा समेत सहभागिता जनाएको स्रोतले जनाएको छ।

नेपालको संघीय संरचनाअनुसार प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले विदेश भ्रमणमा जाँदा संघीय सरकारसँग आवश्यक समन्वय र स्वीकृति लिने अभ्यास रहँदै आएको छ।

तर मुख्यमन्त्री यादवको भारत भ्रमणका लागि संघीय मन्त्रिपरिषद्बाट कुनै निर्णय नभएको जनाइएको छ।

यसअघि प्रदेशका मुख्यमन्त्री विदेश भ्रमणमा जाँदा संघीय सरकारबाट औपचारिक स्वीकृति लिइएका निर्णय सार्वजनिक अभिलेखमा देखिन्छन्।

तत्कालीन मुख्यमन्त्रीद्वय लालबाबु राउत र सतिश सिंहको विदेश भ्रमणमा संघीय सरकारबाट स्वीकृति लिइएको थियो।

त्यसको विपरीत मुख्यमन्त्री यादवले संघीय सरकारको निर्णयबिनै छिमेकी मुलुक भारत भ्रमण गरेपछि प्रदेश सरकारको कार्यशैली र संघीय सरकारसँगको समन्वयलाई लिएर प्रश्न उठेको छ।

विशेषगरी मुख्यमन्त्री स्वयं विदेश भ्रमणमा जाँदा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पालना भए–नभएको विषयमा स्पष्टता आवश्यक देखिएको छ।

यता मुख्यमन्त्री यादवले भने आफू व्यक्तिगत तथा धार्मिक भ्रमणका लागि भारत गएको दाबी गरेका छन्।

उनले धार्मिक भ्रमण भएकाले संघीय सरकारसँग सहमति नलिएको बताएका छन्।

‘व्यक्तिगत भ्रमण भएकाले संघीय सरकारको सहमति लिइएन,’ मुख्यमन्त्री यादवले भने।

उनका अनुसार उनी शुक्रबार भारत गएर आइतबार राति नै मधेश प्रदेश फर्किसकेका छन्।

मुख्यमन्त्रीको भ्रमण व्यक्तिगत भएको दाबी गरिए पनि प्रदेशका केही मन्त्री तथा स्वकीय सचिवसमेत साथमा रहेको विषयले भ्रमणको प्रकृति र त्यसमा सरकारी संयन्त्रको संलग्नताबारे थप प्रश्न उठाएको छ।

संघीय र प्रदेश सरकारबीच अधिकार तथा समन्वयका विषयमा बहस भइरहेका बेला मुख्यमन्त्रीको विदेश भ्रमणमा अपनाइएको प्रक्रियाबारे सार्वजनिक रूपमा स्पष्ट जानकारी दिनुपर्ने आवाजसमेत उठ्न थालेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै