वीरगन्ज । वीरगन्जमा सडक सीमा संरक्षण अभियान पुनः तीव्र बनाइएको छ।
सडक विभाग डिभिजन कार्यालय हेटौंडाले गण्डक क्षेत्रबाट सडक सीमाभित्र रहेका संरचनाहरू पूर्णरूपमा खाली गराउन शुक्रबारदेखि पुनः डोजर परिचालन गरेको हो।
सडक विभागका इन्जिनियर दुर्गाप्रसादका अनुसार केही दिनअघि सडक सीमाभित्र अतिक्रमण गरी निर्माण गरिएका घर तथा संरचनामा डोजर चलाएर भत्काइएको थियो।
त्यसपछि सम्बन्धित घरधनीलाई भत्किएका संरचना, सामान र निर्माण सामग्री आफैं हटाई क्षेत्र खाली गर्न निर्देशन दिइएको थियो।
तर अधिकांश घरधनीले अझैसम्म संरचना पूर्ण रूपमा खाली नगरेकाले विभागले पुनः डोजर परिचालन गरेर सफाइ अभियान अघि बढाएको जनाएको छ।
विभागका अनुसार आज विशेषगरी बिजुलीको लाइन विच्छेद भइसकेका घर तथा संरचनालाई पूर्ण रूपमा हटाउने काम गरिनेछ।
सर्वोच्च अदालतको आदेशअनुसार वीरगन्जका मुख्य सडकलाई दायाँ–बायाँ २५/२५ मिटर कायम गर्दै फराकिलो बनाउने योजनाअन्तर्गत सडक विभागले अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको हो।
सोही अभियानलाई प्रभावकारी बनाउन गण्डक क्षेत्रबाट पुनः डोजर चलाइएको विभागको भनाइ छ।
सडक विभागले सडक सीमाभित्र परेका संरचना समयमै खाली गर्न सम्बन्धित सबैलाई आग्रह गर्दै, अन्यथा कानुनबमोजिम हटाउने प्रक्रिया निरन्तर अघि बढाइने स्पष्ट पारेको छ।