ट्रेन्डिङ

बालबालिका खेल्ने पार्कमै अवैध हुक्का बार, कार्यवाहक नगरप्रमुख आलमको निर्देशनमा भएको छापामारीबाट ठूलो परिमाणमा सुर्तीजन्य सामग्री बरामद

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले बालबालिकाको मनोरञ्जनका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र सञ्चालित एक होटलमा छापा मारेर अवैध हुक्का तथा सुर्तीजन्य सामग्री बरामद गरेको छ।

कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको निर्देशनमा बुधबार वडा नम्बर ४ स्थित शङ्खधर साख्वा (चिल्ड्रेन) पार्कभित्र सञ्चालित दियास हस्पिटालिटी प्रालिमा महानगरको अनुगमन टोली, नगर प्रहरी तथा स्थानीयहरुको रोहवरमा खानतलासी गरिएको थियो।

अनुगमनका क्रममा होटलको स्टोरबाट लुकाइराखिएको अवस्थामा ४६ प्याकेट सूर्य चुरोट, ७० प्याकेट शिखर चुरोट, ८ वटा हुक्का स्ट्यान्ड तथा १७ प्याकेट विभिन्न फ्लेभरका हुक्का तथा सुर्तीजन्य पदार्थ फेला परेको महानगरपालिकाले जनाएको छ।

बरामद गरिएका सबै सामग्री नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

छापापछि कार्यवाहक नगरप्रमुख आलमले बालबालिकाको स्वास्थ्य र भविष्यसँग जोडिएको संवेदनशील क्षेत्रमा यस्ता गतिविधि हुनु गम्भीर विषय भएको बताए ।

बालबालिकाको मनोरञ्जनका लागि निर्माण गरिएको पार्कभित्र हुक्का तथा सुर्तीजन्य पदार्थको कारोबार हुनु अस्वीकार्य रहेको उल्लेख गर्दै उनले कानुनविपरीत यस्ता गतिविधिमा संलग्न व्यक्ति वा व्यवसायलाई कडा कारबाही गरिने चेतावनी दिए।

महानगरपालिकाका अनुसार उक्त व्यवसायको दर्ता तथा नवीकरणको अवस्था भने वैधानिक देखिएको छ।

तर सार्वजनिक पार्क क्षेत्रभित्र हुक्का तथा सुर्तीजन्य पदार्थ भण्डारण र बिक्री–वितरण गरेको पाइएकाले प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।

महानगरपालिकाले आगामी दिनमा पार्क, विद्यालय तथा अन्य सार्वजनिक स्थान वरपर हुने यस्ता गैरकानुनी गतिविधिमाथि निगरानी अझ कडा बनाउँदै बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै