ट्रेन्डिङ

बजेट संशोधनको माग गर्दै मधेश प्रदेश सभामा प्रतिपक्षीको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन्।

बुधबार बजेटमाथिको सैद्धान्तिक छलफलका लागि बसेको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीका सांसदहरूले बजेटमा व्यापक विभेद र असन्तुलन रहेको भन्दै संशोधनको माग गरेका हुन्।

जसपा नेपालका सांसद उपेन्द्र महतोले सरकारले एक करोड रुपैयाँभन्दा कमका योजना समावेश नगर्ने नीति लिएको दाबी गरे पनि बजेटमा पाँच लाख रुपैयाँसम्मका योजना राखिएको भन्दै सरकार आफ्नै प्रतिबद्धताबाट पछि हटेको आरोप लगाए।

उनले बजेट वितरणमा सबै जिल्लाप्रति समान व्यवहार नभएको, मन्त्रालय केन्द्रित ढंगले बजेट बाँडिएको र जनताको अपेक्षा विपरीत योजना समावेश गरिएको दाबी गरे।

प्रतिपक्षी दलहरूले बजेट संशोधनको सुनिश्चितता नभएसम्म सदनको कारबाही अघि बढ्न नदिने अडान लिएपछि प्रदेश सभा बैठक प्रभावित भएको हो।

प्रतिपक्षीको अवरोधपछि सभामुख रामअशिष यादवले दलहरूबीच सहमतिको प्रयास गर्न भन्दै बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।

बजेटलाई लिएर देखिएको विवाद समाधानका लागि दलहरूबीच छलफल जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै