वीरगञ्ज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले बुधबार पर्सा जिल्ला प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन गर्ने भएका छन्।
प्रदेश प्रहरीको नेतृत्व सम्हालेपछि डिआइजी अधिकारीको यो पर्सा प्रहरीको पहिलो औपचारिक निरीक्षण भ्रमण हुनेछ।
प्रहरी स्रोतका अनुसार उनले बुधबार बिहान जिल्ला प्रहरी कार्यालय पर्साका विभिन्न शाखा तथा इकाइहरूको स्थलगत निरीक्षण गर्ने कार्यतालिका रहेको छ।
निरीक्षणका क्रममा उनले नागरिक सहायता कक्ष, कन्ट्रोल रुम, दर्ता–चलानी कक्ष, अपराध नियन्त्रण तथा अनुसन्धान शाखा, उजुरी छानबिन शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कर्मचारी प्रशासन शाखा, सूचना संकलन तथा विश्लेषण शाखा, कार्य/विशेष शाखा, अनुसन्धान योजना शाखा, प्रबन्ध शाखा, आर्थिक प्रशासन शाखा, सामुदायिक प्रहरी शाखा, अनुचित लेनदेन अनुसन्धान शाखा, सञ्चार शाखा, कार्यालय परिसर, ब्यारेक, मेस, क्यान्टिन तथा हिरासत व्यवस्थापन कक्षलगायतका शाखाहरूको अनुगमन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
निरीक्षणका क्रममा डिआइजी अधिकारीले कार्यालयको सेवा प्रवाह, अनुसन्धान प्रणाली, सुरक्षा व्यवस्थापन, अभिलेख व्यवस्थापन तथा प्रहरी संगठनको समग्र कार्यसम्पादनबारे आवश्यक निर्देशनसमेत दिने अपेक्षा गरिएको छ।