ट्रेन्डिङ

पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो, एलपी ग्यासमा कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको खरिद मूल्य घटेर आएपछि निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो।

मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाउने निर्णय गरेको छ।

त्यस्तै, आन्तरिक उडानतर्फ प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर (१४.२ केजी) १०० रुपैयाँले घटाइएको छ।

अब एलपी ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम भएको छ।

यसअघि यसको मूल्य २ हजार १ सय ६० रुपैयाँ थियो।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यासको मूल्य उल्लेख्य रूपमा घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको हो।

मूल्य समायोजनपछि आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको बिक्री मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १ हजार ५ सय ६६ अमेरिकी डलर निर्धारण गरिएको निगमले जनाएको छ।

पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने हवाई इन्धनको मूल्य ‘ब्रेकइभन पोइन्ट’ अर्थात् नाफा–घाटा नहुने आधारमा कायम गरिएको छ।

जसअनुसार पोखरामा प्रतिकिलोलिटर १ हजार १ सय अमेरिकी डलर र भैरहवामा १ हजार ८५ अमेरिकी डलर तोकिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य घटेर आएको र सोहीअनुसार स्वदेशमा पनि मूल्य समायोजन गरिएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै