वीरगन्ज । नेपालको प्रमुख औद्योगिक क्षेत्र वीरगन्ज–सिमरा औद्योगिक करिडोरलाई हरित, जलवायु उत्थानशील र समावेशी औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित ‘नेपालमा हरित औद्योगिक भविष्यका लागि ऊर्जा (पावर–गिफ)’ परियोजना सुरु गरिएको छ।
नर्वे सरकारको आर्थिक सहयोगमा ग्रामीण प्रविधि केन्द्रको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग परिसंघ (सीएनआई), ऊर्जा अध्ययन केन्द्र र आम्बिडियन्स ग्लोबलको कन्सोर्टियमले सञ्चालन गर्ने परियोजनाको क्षेत्रस्तरीय प्रारम्भिक कार्यशाला शुक्रबार वीरगन्जमा सम्पन्न भयो।
कार्यक्रम उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले देशको औद्योगिक मेरुदण्ड मानिने वीरगन्ज–सिमरा करिडोर अझै पनि महँगो र प्रदूषणकारी आयातित इन्धनमा निर्भर रहनु चिन्ताको विषय भएको उल्लेख गरे।
उनले नेपालमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढे पनि उद्योग क्षेत्रमा त्यसको प्रयोग अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए।
जीवावशेष इन्धनमा निर्भर उद्योगका कारण उत्पादन लागत बढेको र त्यसले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतामा असर परेको उनको भनाइ थियो।
उद्योगलाई स्वच्छ तथा नवीकरणीय ऊर्जामा रूपान्तरण गर्न अब ढिलाइ गर्न नहुनेमा जोड दिँदै आलमले वीरगन्ज महानगरपालिका औद्योगिक विद्युतीकरणलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत तथा व्यावहारिक सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए।
उद्योगी र परियोजनाका साझेदार संस्थासँग मिलेर हरित औद्योगिक भविष्य निर्माणमा महानगरले सक्रिय भूमिका खेल्ने उनले बताए।
जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले परियोजनाले विशेषगरी सूक्ष्म, साना तथा मझौला उद्योगको उत्पादकत्व वृद्धि गर्न र आधुनिक प्रविधिको प्रयोग विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
रोयल नर्वेजियन राजदूतावासका ऊर्जा, जलवायु तथा खाद्य सुरक्षा सल्लाहकार सुवास ढकालले नेपालको हरित अर्थतन्त्र निर्माण र दिगो औद्योगिक विकासमा नर्वे सरकारको सहयोग आगामी दिनमा पनि निरन्तर रहने धारणा राखे।
ग्रामीण प्रविधि केन्द्रकी कार्यकारी निर्देशक डा. अन्जु शर्माले परियोजनाको अवधारणा प्रस्तुत गर्दै सन् २०२८ फेब्रुअरीसम्म सञ्चालन हुने जानकारी दिइन्।
उनका अनुसार परियोजनाले प्रमाणमा आधारित नीतिगत सुधार, स्वच्छ ऊर्जा प्रविधिको विस्तार, उद्योगमा डिजिटल प्रणाली र स्मार्ट ग्रिडको प्रवर्द्धन, ऊर्जा लेखापरीक्षण तथा हरित वित्तीय संयन्त्र विकासमा काम गर्नेछ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रमुख शम्भु कुसियैत यादव, उद्योग विभाग मधेशकी कार्यवाहक महानिर्देशक रिमा साह तथा ऊर्जा अध्ययन केन्द्रका निर्देशक प्रा. डा. श्रीराज शाक्यले परियोजना कार्यान्वयनका क्रममा आवश्यक प्राविधिक, नीतिगत र नियामकीय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यशालाको प्राविधिक सत्रमा मोहम्मद अबुल हसन खान र सुदीप न्यौपानेले ‘वीरगन्ज–सिमरा औद्योगिक करिडोरको डिकार्बोनाइजेसनः गन्तव्य र मार्गचित्र’ विषयमा कार्यपत्र प्रस्तुत गरे।
त्यसपछि सीएनआईका महानिर्देशक डा. घनश्याम ओझाको सहजीकरणमा भएको प्यानल छलफलमा बारा–पर्सा उद्योग संघका विनय साह, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार गुप्ता तथा पावर–गिफ परियोजनाका प्रबन्धक डा. सञ्जय प्रसाद गोर्खालीले औद्योगिक विद्युतीकरण, लगानी, नवीकरणीय ऊर्जा र वित्तीय चुनौतीबारे धारणा राखे।
परियोजनाअन्तर्गत करिडोरका कम्तीमा ५० उद्योगमा स्वच्छ ऊर्जा प्रविधि जडान गर्ने, औद्योगिक विद्युत् खपत १७.५ गिगावाट–घण्टाले वृद्धि गर्ने, वार्षिक २,०२७ किलोलिटर जीवावशेष इन्धनको प्रयोग घटाउने तथा ६ हजार २ सय ६७ टन कार्बन उत्सर्जन न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।
साथै १ हजार २ सयभन्दा बढी जनशक्तिलाई व्यावसायिक सुरक्षा, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा आधारित तालिम प्रदान गरिने परियोजनाले जनाएको छ।
कार्यक्रमको समापनमा सीएनआई मधेश प्रदेशका अध्यक्ष प्रमोद साह र अध्यक्ष वीरेन्द्र पाण्डेले हरित औद्योगिक रूपान्तरण सरकार, निजी क्षेत्र र विकास साझेदारबीचको समन्वयबाट मात्रै सम्भव हुने भन्दै सबै पक्षलाई साझा अभियानमा जोडिन आग्रह गरे।