जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट आकार घटाइएको जानकारी दिए।
चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो।
यस आधारमा आगामी वर्षको बजेट करिब १३ प्रतिशतले कम रहेको छ।
प्रस्तुत बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ अर्थात् ३५.९४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड रुपैयाँ अर्थात् ६४.३६ प्रतिशत रकम विनियोजन गरिएको छ।
बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।
यस्तै, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख तथा गत आर्थिक वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ व्यवस्थापन गरिने अर्थमन्त्री भट्टराईले बताए।
प्रदेश सरकारले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।