ट्रेन्डिङ

भ्रष्टाचार मुद्दा दर्तासँगै वीरगन्जका मेयर राजेशमान सिंह पदबाट निलम्बित

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रचलित कानुनी व्यवस्थाअनुसार उनको पद निलम्बन भएको हो।

सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म पद निलम्बन हुने व्यवस्था रहेको छ।

अख्तियारका अनुसार सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० निवासी रिता भट्टराईकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाई ‘रुविना श्रेष्ठ’ नाममा नागरिकता बनाइदिएको आरोप लागेको छ।

झुट्टा विवरण र कागजात प्रयोग गरी नागरिकता जारी गराइएको निष्कर्षसहित आयोगले विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।

अनुसन्धानबाट उक्त प्रक्रियामा वीरगन्ज महानगरपालिकाका तत्कालीन कर्मचारी, जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारी तथा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका केही सदस्यको समेत संलग्नता देखिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार सिंहले २०७१ कात्तिक २० गते वीरगन्ज महानगरपालिका–३ को कार्यालयमा जन्मदर्ता गराउने क्रममा स्वयं सूचक बनेर फाराम भरेका थिए।

सोही जन्मदर्तालाई आधार बनाएर २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा अख्तियारले मेयर सिंह र बालिकाकी जैविक आमा रिता भट्टराईलाई मुख्य प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै