महोत्तरी । महोत्तरीमा स्रोत नखुलेको ८ लाख रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साम्सी गाउँपालिका वडा नम्बर ७ निवासी रामस्नेही साह रहेका छन् ।
बुधबार दिउँसो जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकबाट स्रोत नखुलेको ८ लाख ५ हजार पाँच सय नगदसहित उनलाइ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारका अनुसार बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाईकलमा सवार उनलाइ मनरासिश्वा नगरपालिका वडा नम्बर २ भोल्ही चोक जाँदै गरेको अवस्थामा जाँच गरिएको थियो ।
सोही क्रममा साहले लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको उक्त नगद बरामद गरेको प्रहरीले बताएको छ । शरीरका विभिन्न भागमा लुकाएर राखेको अवस्थामा एक हजार दरका नोट आठ सय एक थान र पाँच सयका नोट ९ थान हुण्डीको रकम बरामद गरेको प्रहरी बताँउछ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।