काठमाण्डौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्।
भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले वर्तमान रास्वपा सरकार गठन भएपछिको यो पहिलो उच्च स्तरीय भ्रमण भएको बताए । भ्रमणमा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर संवाद गर्ने जानकारी दिए । उनले भने, ‘अहिले उठेका सबै इस्युमा हामी छलफल गर्छौं ।’
परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेको थियो। भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा। जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्। सो अवसरमा दुई देशका विदेशमन्त्रीबिच नेपाल र भारतको आपसी हितका विविध विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ।
विशेष गरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य तथा दुई देशका जनताबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर दुई पक्षबिच वार्ता हुने विज्ञप्तिमा उल्लेख छ।
परराष्ट्रमन्त्री खनाल आफ्ना सबै औपचारिक कार्यक्रमहरू पूरा गरी जेठ २४ गते काठमाडौँ फर्कने तालिका छ।