ट्रेन्डिङ

महोत्तरीमा डाका समूहको आतंक : गोली चलाएर लुटपाट, दम्पती घाइते

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा गएराति डाका समूहले गोली चलाउँदै लुटपाट गरेको छ। घटनामा घरधनी दम्पती घाइते भएका छन्।

प्रहरीका अनुसार राति करिब पौने २ बजेतिर ७–८ जनाको समूहमा आएका डाकाहरूले ईश्वरनारायण यादवको घरमा प्रवेश गरी लुटपाट गरेका थिए।

प्रतिवाद गर्ने क्रममा घरधनी ३० वर्षीय ईश्वरनारायण यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवमाथि गोली प्रहार गरिएको बताइएको छ।

गोली लागेर घाइते भएका दुवै जनाको स्थानीय जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेका अनुसार किरण यादवको घुँडामा तथा ईश्वरनारायण यादवको काँध नजिक गोली लागेको छ।

घटनापछि डाका समूह नगद तथा अन्य धनमाल लिएर फरार भएको प्रहरीले जनाएको छ।

फरार समूहको खोजीका लागि प्रहरी परिचालन गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गोलेले बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै