वीरगन्ज। लिखतसम्बन्धी कसुरको आरोपमा पक्राउ परेका वीरगन्जका महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा प्रहरीले मंगलबार जिल्ला अदालत पर्सामा उपस्थित गराएको छ।
मेयर सिंहलाई कार्यालय समय सुरु भएसँगै अदालतमा उपस्थित गराइएको जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए।
उनका अनुसार अब अदालतमा बयान लिने प्रक्रिया सुरु हुने र त्यसपछि थुनछेक बहस अगाडि बढाइनेछ।
“बयानपछि थुनछेक बहस हुन्छ। त्यसपछि अदालतको आदेशअनुसार थप कानुनी प्रक्रिया अघि बढ्छ,” मल्लिकले भने।
मेयर सिंहलाई मंगलबार बिहान पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरिएको थियो।
स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले गत जेठ १२ गते सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
अर्काकी छोरीलाई आफ्नै छोरीका बनाइ नक्कली कागजातको आधारमा नागरिकता बनाइदिएको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो।
सोही मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले बताएका छन्।