वीरगन्ज। नेपाल पत्रकार महासंघ पर्सा शाखाले निवर्तमान अध्यक्ष अनुप तिवारीसँग शाखाका सम्पूर्ण आधिकारिक कागजात, माइनुट, हरहिसाब तथा सम्पत्ति विवरण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ।
निर्धारित समयभित्र कागजात उपलब्ध नगराए शाखा नियमानुसार अगाडि बढ्ने चेतावनीसमेत दिइएको छ।
महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा जारी पत्रमा तत्कालीन कार्यसमितिले हालसम्म नयाँ नेतृत्वलाई जिल्ला शाखाको माइनुटलगायत कुनै पनि आधिकारिक दस्तावेज हस्तान्तरण नगरेको उल्लेख गरिएको छ।
पत्रको बोधार्थ महासंघको केन्द्रीय कार्यालय र मधेश प्रदेश समितिलाईसमेत पठाइएको छ।
पत्रअनुसार २०८१ पुस ३ गते बसेको शाखाको पहिलो बैठकले तत्कालीन कोषाध्यक्ष तथा हालका कोषाध्यक्ष सञ्जीव कुमार मिश्रलाई शाखाको सम्पूर्ण हरहिसाब, चलअचल सम्पत्तिको लगत र आर्थिक विवरण ३० दिनभित्र पेश गर्ने जिम्मेवारी दिएको थियो।
तर लामो समय बितिसक्दा पनि विवरण उपलब्ध नगराइएको शाखाले जनाएको छ।
महासंघले पछिल्लो समय उठाइएको सदस्यता शुद्धीकरणको विषयलाई समेत कागजात मागसँग जोडेको छ।
निवर्तमान अध्यक्ष तिवारीकै संयोजकत्वमा बनेको ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’ले केही दिनअघि शाखा अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापनपत्र बुझाउँदै सदस्यता शुद्धीकरण प्रक्रिया सुरु गर्न तीन दिने अल्टिमेटम दिएको थियो।
त्यसको तेस्रो दिनमै शाखाले तिवारीसँग विगतका निर्णय र प्रक्रिया सम्बन्धी कागजात माग्दै औपचारिक पत्र पठाएको हो।
शाखाले तत्कालीन कार्यसमितिको पालामा कसरी र के आधारमा सदस्यता वितरण गरिएको थियो भन्ने यकिन गर्न माइनुटलगायतका अभिलेख आवश्यक पर्ने जनाएको छ।
महासंघले शुद्धीकरण प्रक्रियालाई संस्थागत निर्णय र प्रमाणका आधारमा अघि बढाउनुपर्ने उल्लेख गर्दै आवश्यक कागजात अभावमा कार्य सञ्चालनमै समस्या भइरहेको जनाएको छ।
अनुप तिवारी गत निर्वाचनमा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए।
निर्वाचनमा पराजित भएपछि उनले महासंघभित्र सदस्यता वितरण प्रक्रियामाथि प्रश्न उठाउँदै शुद्धीकरणको माग गर्दै आएका छन्।