ट्रेन्डिङ

कक्रोज जनता पार्टी’को फलोअर्स चार दिनमा कति नाघ्यो ?

वीरगन्ज । भारतका मुख्य न्यायाधीश सुर्यकान्तले युवापुस्तालाई ‘कक्रोच’ र ‘परजीवी’सँग तुलना गरेको भनिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ‘कक्रोच जनता पार्टी’ नामक अभियान एकाएक भाइरल बनेको छ।

केही दिनयता इन्स्टाग्राम, एक्स (पूर्व ट्विटर) तथा वेबसाइटमार्फत फैलिएको उक्त अभियानले व्यापक चर्चा पाएको हो।

अभियानसँग सम्बन्धित इन्स्टाग्राम ह्यान्डलले छोटो समयमै करोडौं फलोअर्स बटुलेको दाबी गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार चार दिनको अवधिमै उक्त ह्यान्डलका फलोअर्स १ करोड २८ लाख नाघेका छन्।

एक्समा पनि ‘कक्रोच जनता पार्टी’ सम्बन्धी पोस्टहरू तीव्र रूपमा शेयर भइरहेका छन्।

यसैबीच, अभियानको नाममा छुट्टै वेबसाइटसमेत सञ्चालनमा आएको छ।

वेबसाइटमार्फत हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले सदस्यताका लागि नाम दर्ता गराएको दाबी गरिएको छ।

वेबसाइटमा अभियानका संस्थापक तथा संयोजकका रूपमा अभिजित दीपकेको नाम उल्लेख छ।

बीबीसीसँगको कुराकानीमा दीपकेले यो अभियान सामाजिक असन्तुष्टिको प्रतीकका रूपमा सुरु गरिएको बताएका छन्।

उनका अनुसार भारतको न्याय प्रणाली र शासन व्यवस्थाप्रति आलोचनात्मक धारणा राख्ने युवाहरूलाई अपमानजनक रूपमा चित्रण गरिएको महसुस भएपछि अभियान सुरु गरिएको हो।

सामाजिक सञ्जालमा भने ‘कक्रोच जनता पार्टी’लाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ।

केहीले यसलाई युवाहरूको प्रतिरोधको प्रतीकका रूपमा व्याख्या गरेका छन् भने कतिपयले यसलाई व्यंग्यात्मक डिजिटल आन्दोलनको रूपमा लिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै