जनकपुर । कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछ।
यसका लागि बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ।
सरकारमा सहभागी रहेको जनमत पार्टीले वैशाख २२ गते समर्थन फिर्ता लिएपछि संविधानअनुसार मुख्यमन्त्री यादव विश्वासको मत लिन बाध्य भएका हुन्।
मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो।
संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ।
हाल मधेस प्रदेश सभामा १०२ जना सदस्य रहेका छन्।
सरकार जोगाउन ५२ सांसदको समर्थन आवश्यक पर्ने भए पनि सरकार पक्षमा स्पष्ट बहुमत देखिएको छ।
नेपाली कांग्रेसका २२, जसपा नेपालका २६ तथा नेपाल कम्युनिस्ट पार्टीका १५ सांसदसहित सरकारसँग हाल ६३ जना प्रदेश सभा सदस्यको समर्थन रहेको बताइएको छ।
यता जनमत पार्टीले भने मुख्यमन्त्री यादव नेतृत्वको सरकारविरुद्ध मतदान गर्ने निर्णय गरेको छ।
जनमत मधेस प्रदेश संसदीय दलले आजको विश्वासको मत प्रक्रियामा विपक्षमा उभिने जनाएको छ।